धनुषाको धनुषाधाम नगरपालिका देशकै तेस्रो र मधेस प्रदेशको पहिलो विद्युत् चुहावटमुक्त नगरपालिका घोषणा भएको छ।
धनुषाधाममा शनिवार आयोजित एक कार्यक्रमकाबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषाधाम नगरपालिकालाई मधेस प्रदेशको पहिलो चुहावटमुक्त नगरपालिका घोषणा गरेका हुन्।
कार्यक्रममा बोल्दै घिसिङले  विद्युत् सेवाको गुणस्तर सुधार तथा चुहावट नियन्त्रणमा स्थानीय तह, सरोकारवाला र जनताको सहकार्य आवश्यक रहेको र त्यसलाई धनुषाधामले पूर्ण रूपमा निर्वाह गरेको बताए।
उनले चुहावटमुक्त अभियानले विद्युत् आपूर्तिमा सुधार ल्याउने र उपभोक्तालाई नियमित तथा गुणस्तरीय सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान दिने धारणा राखेका थिए।
कार्यक्रममा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले नगरवासीका लागि विद्युत् जरिवानामा सहुलियतको माग गर्दै निर्देशक घिसिङसमक्ष किसानहरूका लागि थप विद्युत् सुविधा उपलब्ध गराउन अनुरोध गरेका थिए।
कार्यक्रममा नगरपालिकाका विपन्न नागरिकलाई निःशुल्क मिटर समेत वितरण गरिएको थियो।