जनता समाजवादी पार्टी (जसपा) ले सरकारले ल्याएको अध्यादेश संसद्को कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने भएको छ। 
शुक्रवार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरूको कारणले अध्यादेश नअड्किएको भन्दै संसद्को कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका हुन्। 
उनले भने,‘हामीले अध्यादेश अड्काएको होइनौँ। सरकारले आफै कार्यसूचीबाट हटाएको छ। हामी धारणा बनाउँदैंछौं, हाम्रो सोच सकारात्मक छ। अब सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्ने छौँ।’
त्यस्तै उनले अध्यादेशमा सघाएमार्फत आफूहरूले पदको बार्गेनिङ चलिरहेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताए। आफूहरू अहिले सरकारमा जाने कुनै अवस्थामा नरहेको भन्दै देश र जनताको हितमा काम मात्र चाँहीएको बताए। 
उनले भने,‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौँ, मन्त्रालय मागेका छैनौँ। देश र जनताको हितमा काम चाहिएको हो।’