ललितपुरबाट चार वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माई होङ्ग किन्हालन छन्।
प्रहरीले अपहृत बालकको कलंकीस्थित एक होटलबाट उद्धार गरिसकेको छ। बालकलाई भारतको पन्जाब लैजान तयारी गरिरहेका बेला प्रहरीले उद्धार गरेको हो।
जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले बालकको उद्धार गरेको हो।
ललितपुरको पाटन बस्दै आएका चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरणमा परेका थिए। छोरा हराएको भन्दै उनकी आमाले प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।
अपहरणको आरोपमा पक्राउ परेका २३ वर्षीय नागरिक भियतनामको चाइवाङ सिटीका हुन्। उनी २७ डिसेम्बर, २०२३ मा नेपाल आएका प्रहरीको भनाइ छ।
११ दिन नेपाल बसेपछि उनी भारतको नयाँ दिल्ली गएका थिए। २७ अप्रिल, २०२४ मा भारतको पन्जाबबाट सडकमार्ग हुँदै पुनः नेपाल आएर बसोबास गरेका उनले किन बालकको अपहरण गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। ‘बालक हराएको उजुरी ललितपुर प्रहरीमा परेको रहेछ, हामीले पनि खोजतलासका लागि सर्पोट गरेका हौं,’ बस्नेतले भने,‘ अनुसन्धान भइरहेको छ।’
प्रहरीका अनुसार भियनतामीले शनिबार बिहान १० बजेतिर काठमाडौंबाट वीरगञ्ज जाने ‘न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामको ६८१८ नम्बरको बसको सिटी ‘बी’ को ३ र ४ नम्बरको टिकटसमेत बुक गरेका थिए।