थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी छिन्। शनिवार आयोजित छैठों राष्ट्रिय महाधिवेशनबाट थारू महिला समाज नेपालको अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी हुन्।
यस्तै समाजको केन्द्रीय उपाध्यक्षमा इन्दु चौधरी निर्वाचित भएकी छिन् भने महासचिवमा मायाकुमारी चौधरी निर्वाचित भएकी छन्। यस्तै, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित भएका छन्।
यसैगरी थारू महिला समाजको केन्द्रीय सदस्यहरूमा वन्दना चौधरी, सुशीला चौधरी, सीता चौधरी, सविता चौधरी, शशि कुमारी चौधरी,बबिता चौधरी, पिंकी कुमारी चौधरी र सुशिला कुमारी चौधरी निर्वाचित भएका छन्।
उनीहरूलाई शनिवार नै पद तथा गोपनीयताको शपथ निर्वाचन अधिकृत एवं अधिवक्ता सोनु थारुले गराइएकी थिइन्। कार्यक्रममा थारू महिला समाज नेपालको निवर्तमान अध्यक्ष गीता चौधरीको बिदाइ गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि रहेका थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारू महिलाहरू अब थप सशक्तीकरणमा जोड दिनुपर्ने बताए । उनले भने, ‘ अहिले थारू महिलाहरू थप जागृत र सशक्त भएर अगाडी बढ्नु जरुरी छ।’ समाजमा विकृति र विसङ्गति बढिरहेको भन्दै यसको लागि सचेतना कक्षा चलाउनु जरुरी रहेको उनको भनाइ थियो।
यस्तै विशिष्ट अतिथि एवं थारू भसा साहित्य केन्द्रका अध्यक्ष (भाषाविद्) भुलाई चौधरीले थारुहरू मधेस प्रदेशमा भूगोलको लडाइँ हारे पनि पहिचानको लडाइँ जित्नु जरुरी रहेको बताए।
उनले भने, ‘ अहिले मधेस प्रदेशमा थारू भाषालाई नामेट पार्ने काम भइरहेको छ। यसअघि हामीले थरुहट प्रदेशको नामाकरण गर्न सकेनौ। तर हाम्रो भाषामाथि पनि आक्रमण हुँदै छ। यसका लागि सम्पूर्ण थारुहरू सचेत र जागरूक हुन जरुरी छ। पहिचान मेटाउनबाट सतर्क हुनुपर्दछ।’
कार्यक्रममा अधिवक्ता बुद्ध सेन चौधरी र महेश्वरप्रसाद चौधरीले स्थापनाकालमा थारू महिलाहरूले हरेक आन्दोलनमा साथ दिएको र पहिचानको मुद्दालाई स्थापित गर्न ठुलो योगदान दिएको भन्दै अब आउने नयाँ नेतृत्वले उहाँहरूको पदचाप पछ्याउनुपर्ने जिकिर गरे।
यस्तै थारू महिला समाज उपत्यका समितिकी उपाध्यक्ष मालती चौधरीले थारु समाजमा अहिले युवायुवतीहरूमा धेरै विकृति देखिएको बताइन्।
उनले भनिन्, ‘थारू समाजमा अहिले विवाहदेखि व्रतबन्धसम्म विकृति भित्रिएको छ। युवायुवतीहरूमा नैतिकताको अभाव खड्किएको छ। विवाहमा युवायुवतीहरुले आफ्नो अभिभावको क्षमताभन्दा बढी दाइजो, गरगहना र दाइजोको रूपमा माग्ने चलन भित्रिरहेको छ।’ उनले थारू समाजमा चेतनाको दियो, सचेतनाको कार्यक्रम, र महिला सशक्तीकरण गर्नुपर्ने खाँचो रहेको बताइन्।
स्थापनाकालदेखि सल्लाह र सहयोग गर्नेलाई सम्मान
कार्यक्रममा थारू समाजलाई समाजलाई स्थापनाकालदेखि नै सल्लाह र सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेहरूमा अधिवक्ता महेश्वर प्रसाद चौधरी, अधिवक्ता बुद्ध सेन चौधरी, थारू विद्यार्थी समाज नेपालका अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारू विद्यार्थी समाज नेपालका पूर्वअध्यक्ष सीएन थारू, थारू भाषा साहित्य केन्द्रका महासचिव सियाराम चौधरी, स्वयम कन्स्ट्रक्शन प्रालिका प्रोप्राइटर शत्रुघ्नप्रसाद चौधरी, थारू कल्याण कारिणी सभाका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरी , थारू कल्याण कारिणी सभा उपत्यका समितिको सचिव उमेश चौधरी, राम स्वागत चौधरी, धर्मलाल चौधरी, सीमा चौधरी, प्रह्लाद चौधरीलगायत रहेका छन्।