वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको सामना गर्न विकासोन्मुख देशहरूका लागि पर्याप्त वित्तीय स्रोतहरू उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताएका छन्। 
आइतबार नेपालमा पुनरुत्थानशील बागवानी मूल्य शृङ्खला सम्बन्धी कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै विकासोन्मुख देशहरूको लागि पर्याप्त वित्तीय स्रोतहरू उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताए। 
उनले भने,‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई सर्वविदितै छ। यसका लागि विश्वले जलवायु परिवर्तनको मुख्य कारकको रूपमा रहेको कार्बन उत्सर्जनलाई घटाउनुको साथै हामी जस्ता विकासोन्मुख देशहरूको लागि पर्याप्त वित्तीय स्रोतहरू उपलब्ध गराउन अत्यन्तै आवश्यक भएको छ।’
मन्त्री ठकुरीले जलवायुमैत्री कृषि, नवीकरणीय ऊर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न विभिन्न कदम चालिरहेको पनि बताए।
उनले भने,‘जलवायुमैत्री कृषि, नवीकरणीय ऊर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न विभिन्न कदम चालिरहेका छौँ। सरकार निजी क्षेत्र र विकास साझेदारहरूको सहकार्यमा नवप्रदान्मक समाधानहरू अघि बढाउन सार्वजनिक निजी पुँजी परिचालन गर्न अति आवश्यक छ।’
उनले नेपाललाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउन प्रभावकारी उपायहरू मध्ये पुर्न उत्पादक बागवानी एक महत्त्वपूर्ण उपाय रहेको पनि बताए। उनले अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुर्न उत्पादक कृषि अभ्यासहरूलाई अङ्गीकार गर्न अपरिहार्य रहेको कुरामा जोड दिए।