त्यस बेलाको घटना आज सम्झिन नपरोस् जस्तो लाग्छ। जुन बेला बुबा (शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरिए) को घटना हुँदा माघ महिना थियो। २०५८ माघ ३ गतेको घटना हो। त्यति बेला म लमजुङको घरमा नै थिए। त्यो समयमा म काठमाडौँमा पढ्ने पढाउने काम पनि गर्थे। जाडो बिदा भएकाले म घर गएको थिए। माघको ४ गते काठमाडौँ आउने योजना थियो। ३ गते दिउँसो त्यो घटना घट्यो।
उहाँलाई स्कुलको कक्षा कोठाबाटै नकावधारीहरुले लिएर गएको कुरा सबैभन्दा पहिले छिमेकीहरूले खबर गर्नुभएको हो। हामी घरमा भएपनि लगेको थाहा भएन। घटना भएपछि मात्र थाहा भयो। त्यति बेला देशैभरि सङ्कटकालीन अवस्था थियो। माओवादीहरूको सहरमा भन्दा बढी गाउँमा दबदबा थियो। स्कुलमा त्यति बेलाको हेडसर छोडेर विस्थापित हुनुभएको थियो र बुबा त्यति बेला कार्यवाहक हेडसर हुनुहुन्थ्यो। माघको २ गते जिल्ला शिक्षा कार्यालयले बुबालाई बोलायो। बुवा गएर हेडसरको पत्र बुझेर आउनुभयो र ३ गते व्यवस्थापक समितिको बैठक राखेर अनुमोदन गराएर हेडसर हुने योजनामा हुनुहुन्थ्यो । बेलुकीको समयमा व्यवस्थापन समितिको बैठक बस्दै थियो। तर दिउँसो १ बजे नै उनीहरू आएर अपहरण गरे। आधा घण्टा माथि अर्थात् मेरो घरको आडकै ठाडो बाटो लगेर गएछन्। अनि रुखमा बाँधेर हत्या गरेछन्। घरमा आमा, बहिनीहरू र मैले ३ बजेतिर मात्रै थाहा पाएका हौँ। उनीहरूले बुबालाई सबै शिक्षकहरूको २५ प्रतिशत तलब सङ्कलन गरेर दिनु भनेका थिए तर नदिने सल्लाह भएछ।
नदिने भन्ने सल्लाह भएपछि बुबालाई आफ्नो भएपनि दिनु भनेका थिए रे। नदिने सल्लाह भएकाले साथीहरूलाई धोका दिन मिल्दैँन् र म दिन्न भन्ने कुरा गर्नु भएको रहेछ। दोस्रो आरोप भनेका संस्कृत पढाएको भन्ने आरोप पनि कतै कतै सुनिन्छ। संस्कृत बढाउने कुरा राज्यको नीति नै थियो। एउटा व्यक्तिले गर्ने वा नगर्ने कुरा थिएन। बुबाको हत्याको अरू कारण छैन। लेबी नदिएको र संस्कृत पढाएको आरोप मात्र थियो।
हामी बसेको आसपासको क्षेत्रमा माओवादीको प्रभाव थिएन, त्यही भएर त्यो ठाउँमा भएका प्रभावशाली व्यक्तिहरूलाई हटाउने वा हत्या गर्ने हो भने हाम्रो कब्जा हुन्थ्यो भन्ने मनसायले हत्या गरेको पनि देखिन्छ।
माओवादीले मारेपछि सुराकी भन्ने चलन पनि थियो, त्यो पनि आरोप छ। यही विभिन्न कारणले उनीहरूले आफ्नो अभियानमा अवरोध ठानेको हुनाले बुबाको हत्या गरे। व्यक्ति हत्या र हिंसामा मेरो समर्थन छैन, चन्दा पनि दिन सक्दिन भन्ने बुबा विचार थियो।
बुबालाई लिएर जाने बेलामा मुकुन्डो लगाएर माओवादीहरू आएका थिए भन्ने सुनेको हो। उनीहरू आएर बुबा पढाउने स्कुल पाणिनी संस्कृत माध्यमिक विद्यालय हो। त्यहाँ गएर कक्षा कोठामा पढाइरहेको अवस्थामा विद्यार्थीहरूकै अगाडि हात, खुट्टा बाँधेर १० मिनेट केही कुरा गर्नु छ, कुरा गरेर फिर्ता लिएर आउँछौ भनेर लिएर गएका थिए रे। हामीले घटना भएपछि मात्र थाहा पाएका हौँ।
भौतिक र मानसिक यातना पनि भयो बुबालाई, आधा घण्टाभन्दा बढीको बाटो बाँधेर हिडाएर लगेका रहेछन्। पाइला धेरै चाल्न नसक्ने गरी दुवै खुट्टामा र पछाडिपट्टि हात बाँधेर लिएर गएका थिए रे। अनि डाँडाको उतिसको रुखमा बुबाले नै लगाउनु भएको गलबन्दीले रुखमा बाँधेर त्यसपछि गोली हानेर हत्या गरेका रहेछन्।
उहाँको हत्यापछि काजकिरिया घरमा नगर्ने, त्रास छ भन्ने थियो। तर हामीले घरमै गर्ने भन्यौँ। त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय गएर उजुरी हाल्यौँ। घटनाको छानबिन, दोषीलाई कारबाही भनेर माग पनि गरेका थियौँ। त्यो बेला हालेको उजुरी आजको दिनसम्म पनि त्यसको केही सुनुवाइ भएको छैन। मानव अधिकार आयोग, सत्य निरूपण आयोगमा ०७२ सालमै उजुरी हाल्यौँ। आज २३ वर्ष बितिसक्यो कुनै सुनुवाइ भएको छैन।
यतिका वर्षदेखि अभियानकै रूपमा लागि रहेको छु, केही भएको छैन। भनेपछि हजारौँ पीडितहरूको सुनुवाइ राज्यले कहिले गर्ला ? सरकार यसमा कति पनि गम्भीर, इमानदार, संवेदनशील भएर यतातर्फ लागेकै छैन। सशस्त्र द्वन्द्व कालमा लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई २०५८ माघ ३ गते तत्कालीन माओवादी कार्यकर्ताले विभत्स तरिकाले हत्या गरेका थिए।