पाथीभरामा केबलकार निर्माणविरुद्ध आन्दोलितहरूले सोमबार राति रुख ढालेर मेची राजमार्ग अवरुद्ध गरेका छन्।

पाँचथरको गोपेटारमा दर्जनौँ रुख ढालेर सडक अवरुद्ध गरिँदा कारण प्रसूति व्यथाले छट्पटाइरहेकी महिला बोकेको एम्बुलेन्ससमेत बाटैमा रोकिएको छ।

सातादेखि आन्दोलित केबलकार विरोधी समूहको आन्दोलन उग्र बन्दै जाँदा सडक छेक्न रुख नै ढालिएको हो। मध्यराति रुख ढालेर सडक छेकिँदा आकष्मिक रुपमा बिरामी परेकाहरूलाई समेत लैजान समस्या भएको छ।

पाँचथरको सडकमा रुख ढालेर सडक अवरोध गरिँदा सोमबार राति २ बजेदेखि बिहानैसम्म एम्बुलेन्स अलपत्र परेको थियो। एम्बुलेन्सभित्र रहेकी सुत्केरी व्यथा लागेकी १८ वर्षीय महिला चिच्याइरहेकी थिइन्। बाटैमा सुत्केरी ब्यथाले च्यापेकी उनलाई एम्बुलेन्सले अस्पताल लैजाँदै थियो।

सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा प्रसूति गराउन नसकेपछि हिलिहाङ-२ देखि फिदिम लाँदै गरेकी कल्पना जोगी (तामाङ) को ज्यान नै जोखिममा परेको थियो।

एम्बुलेन्स चालक नुपु शेर्पाले राति २ बजे बिरामी लिएर आउँदै गर्दा बाटोमा रुख ढालिएपछि बिरामी बचाउन गोपेटार फर्काएको बताए।

अवस्था जटिल भएपछि गोपेटारमा बिहानसम्म पनि प्रसूति गराउन नसकिएको त्यहाँका स्वास्थ्यकर्मी चन्द्र घिमिरेले बताएका छन्।

प्रहरीले बिहान रुख हटाएर सडक सुचारु गरेको छ।

गत माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर करिडोर बन्द छ। ‘नो केबलकार समूह’ले मंगलबारदेखि अरुणपूर्वका नौ जिल्लामा आमहड्ताल गरेको छ।