नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी पुगेका छन्। म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले मङ्गलवार बिहान हरियाली चोकदेखि तातोपानी कुण्डसम्मको मर्निङवाक गरेका हुन्।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा उक्त भिडियो पोस्ट गरेका छन्। सो क्रममा बोल्दै उनले केही वर्ष अघि आफू धर्मपत्नी र केही मन्त्रीहरूको साथमा तातोपानी कुण्ड आएको स्मरण गर्दै त्यस बेलामा निकै प्रचार भएको बताए। त्यस बेला आउँदा र अहिले आउँदा केही संरचनामा प्रगति भएको उनले उल्लेख गरेका छन्।
तातोपानी कुण्डको सुरक्षामुखी कुरा अर्थात् कुण्ड वरपर तटबन्ध गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुँदा प्राथमिकतामा राखेको उनले जिकिर गरे। यसका लागि पटक पटक बजेट विनियोजन भैसकेको र अहिले १० करोडको टेन्डरको प्रक्रिया भएको उनले बताए।
उनका अनुसार यो बहुवार्षिय योजना भएकाले अब बन्ने पक्का भएको हो। तातोपानी कुण्डका पदाधिकारीले वर्षातको समय आउन सक्ने बाढी र गर्ने सक्ने क्षति न्यूनीकरणका बारेमा जानकारी गराएका थिए। अध्यक्ष प्रचण्डले बेनिघाट र ढोरपाटनको बाटो बनेकोमा खुसी व्यक्त गरे।