देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानको सञ्चालन हुँदैछ।  
यही माघ २२ देखि फाल्गुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने अभियानको शुभारम्भ आज शिवपुरी उच्च माध्यमिक विद्यालय,महाराजगन्ज,काठमाडौँबाट हुने भएको हो।  
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अभिभावकत्व तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सभापतित्वमा उक्तm खोप अभियानको शुभारम्भ कार्यक्रम हुन लागेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो। अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो। 
उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएकाले अभियानमा सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ।