रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीमा श्री राम जानकी मन्दिरको पुनःनिर्माणको काम भइरहेको छ। गरुडा नगरपालिकाले जीर्ण अवस्थामा पुगेको यो मन्दिरलाई नयाँ स्वरूप दिनका लागि ३५ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो।
सो मन्दिरको ऐतिहासिक धार्मिक महत्व रहेकाले पुनःनिर्माणको काम थालिएको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले बताए। उनका अनुसार मन्दिरलाई आधुनिक शैलीमा भव्य तथा आकर्षक बनाइने छ। यो मन्दिरले धार्मिक पर्यटकको आगमन बढाउनेमा उनले विश्वास व्यक्त गरे।
दशकौँ पुरानो मठ जीर्ण बन्दै गएपछि दैनिक पूजा, सत्संग, तथा अन्य धार्मिक क्रियाकलापमा कठिनाइ भएको थियो। अब यो मन्दिर पुनःनिर्माण भएपछि दैनिक पूजा अर्चना, प्रवचन, भजन कीर्तन, धार्मिक सभाहरू, विवाह, यज्ञ जस्ता कार्यक्रमहरू सहज हुने स्थानीयको भनाइ छ।
यो मन्दिर पोठियाही गाउँका साथै वरपरका क्षेत्रका धार्मिक आस्थाका केन्द्रहरूमध्ये एक हो। धार्मिक सम्पदाको संरक्षण तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मन्दिर पुनर्निर्माणको काम थलिएको गरुडा नगरपालिकाले जनाएको छ।