गृहमन्त्री रमेश लेखकले शहीद दिवसको अवसरमा शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले बुधवार एक विज्ञप्ति जारी गर्दै नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना, मानव अधिकार र सामाजिक न्यायका लागि आफ्नो जीवन बलिदान दिएका महान् शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
उनले शहीद दिवस केवल सम्झना गर्ने दिन मात्र नभई शहीदहरूको बलिदानलाई सार्थक बनाउन सबैले संकल्प गर्ने अवसरको दिन पनि पनि रहेको बताए । उनले शहीदहरूको सङ्घर्ष र बलिदानकै कारण स्वतन्त्रताको अनुभूति गर्न पाएको पनि बताए।
विज्ञप्तिमा भनिएको छ, ‘शहीदहरू राष्ट्रका अमूल्य निधी हुन्। शहीदहरूको सङ्घर्ष र बलिदानकै कारण हामीले आजको स्वाधीनता, लोकतान्त्रिक शासन प्रणाली र नागरिक स्वतन्त्रताको अनुभूति गर्न पाएका छौँ। शहीद दिवस केवल सम्झना गर्ने दिन मात्र नभई उहाँहरूको बलिदानलाई सार्थक बनाउन हामी सबैले संकल्प गर्ने अवसरको दिन पनि हो।’
उनले शहीद परिवारहरूको सम्मान र हितमा सरकार सधैँ प्रतिबद्ध रहेको बताए। शहीदहरूले देखाएको मार्गबाट समाजलाई समृद्ध बनाउँदै राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्ने पनि बताए।
अन्त्यमा उनले सम्पूर्ण शहीदहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शहीदहरूको बलिदानलाई सार्थक बनाउने प्रण गरेका छन्।
