पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ स्थित बेतनामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेलबारी–४ का अन्दाजी ८२ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको छ।
प्रहरीका अनुसार तामाङलाई पैदल हिँडिरहेका बेला मोटरसाइकलले शनिवार दिउँसो ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रहरीले विराटनगरको कोशी अस्पताल पठाइएकोमा अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको धनपालथान गाउँपालिका–२ का २५ वर्षीय सुमन कटुवाल र पछाडि सवार ३२ वर्षीय सञ्जय पासवान घाइते भएका छन्। दुवै जनाको अवस्था सामान्य छ।
प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।