नेपाल बार एसोसिएसनले यहि फागुन ३ गतेदेखि ५ गतेसम्म ‘पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’को आयोजना गर्ने भएको छ।
मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै बारले फागुन ४ गते सम्मेलनको उद्घाटन गर्ने जानकारी गराएका हुन्।
उक्त सम्मेलनमा एसियाका सदस्य तथा गैर सदस्यहरू समेत गरी ३६ भन्दा बढी देशका तीन सय भन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विशेष आतिथ्यता हुनेछ।
सम्मेलनको विषयवस्तु ‘मानव अधिकारको सहनशीलता: प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ रहेको छ जसले समसामयिक मानव अधिकार मुद्दाहरूलाई सम्बोधन गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
सम्मेलनमा एक पूर्ण सत्र र मानव अधिकार, वातावरणीय न्याय र आदिवासी जनजाति र समुदायका अधिकारहरू समेत गरी जम्मा तीन ट्र्याकहरूमा १२ वटा विषयगत सत्रहरू हुनेछन्।
ल एशियाका अध्यक्ष वरिष्ठ अधिवक्ता श्याम दिवानले कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै नेपाल बार एसोसिएसन र यसको ऊर्जावान् नेतृत्वले यस सम्मेलनको लागि मानव अधिकार, वातावरणीय न्याय र आदिवासी समुदायहरूको अधिकारका विषयहरू समेटिएको एक समृद्ध एजेण्डा तयार गरेको बताए।
उनले भने, ‘हामी विश्वभरका वकिलहरूको उपस्थितिले समृद्ध हुने यो सम्मेलन नेपाल बार एसोसिएसनको समर्थनमा यो लक्षलाई अझ अघि बढाउनेमा विश्वस्त छौँ । ल एशिया र नेपालको सम्बन्ध धेरै गहिरी छाल एशियाको उद्घाटन सम्मेलन १९६६ मा हुँदा नेपाल बार एसोसिएसनका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए, जसबाट लामो समयसम्मको सम्बन्धको सुरुवात भएको थियो । नेपालको न्यायपालिका र स्वतन्त्र बारले मानव अधिकार, वातावरण, असल शासन र सार्वजनिक कानुनका क्षेत्रमा पथब्रेकिङ निर्णयहरू जारी राखेको छ । नेपाल बार एसोसिएसन र यसको ऊर्जावान् नेतृत्वले यस सम्मेलनको लागि मानव अधिकार, वातावरणीय न्याय र आदिवासी समुदायहरूको अधिकारका विषयहरू समेटिएको एक समृद्ध अजेण्डा तयार गरेको छ। बलियो स्थानीय र अन्तर्राष्ट्रिय विशेषज्ञतासहितको विविध दायरा बोकेको वक्ताहरूको उपस्थितिले नेपालभरका कानुन व्यवसायीहरूलाई निस्सन्देह आकर्षित गर्नेछ।’
त्यस्तै, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सम्मेलन संवाद र सहकार्यको लागि एक महत्त्वपूर्ण मञ्च भएको भन्दै यसले समयका ज्वलन्त मानव अधिकार चुनौतीहरूलाई सामना गर्न सशक्त बनाउने बताए।
‘सम्मेलन संवाद र सहकार्यको लागि एक महत्त्वपूर्ण मञ्च हो, जसले हामीलाई हाम्रो समयका ज्वलन्त मानव अधिकार चुनौतीहरूलाई सामना गर्न सशक्त बनाउँछ। हामी यस महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्न पाउँदा सम्मानित महसुस गरेका छौँ। विश्वभरका न्यायपालिका, कानुन व्यवसायी, मानवाधिकारकर्मीहरुको सहभागितामा नेपालमा हुने यस अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको मानवअधिकार संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास हामीले लिएकाछौं,उनले भने।
सम्मेलनको सुरुवात फेब्रुअरी १५ को साँझमा सबै प्रतिनिधिहरूका लागि स्वागत डिनरबाट हुनेछ र राष्ट्रपतिले फेब्रुअरी १६ मा सम्मेलनको औपचारिक उद्घाटन गर्ने छन्। फेब्रुअरी १६ र १७ मा एक पूर्ण सत्र र १४ वटा सत्रहरू हुनेछन्।