रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने इशनाथ नगरपालिका वडा न ४ को लतमरीबाट सशस्त्र प्रहरीले आइतबार राति पक्राउ गरेको हो।
भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय वडा नम्बर ९ का २६ वर्षीय धनञ्जयकुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका गणपति (एसपी) विक्रम हुमागाईँले बताए।
उनका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जीन १ थान, ७.६७ मि.मि ४ राउण्ड गोली बरामद भएको छ। घटनास्थलबाट  विआर ०५ बिडी १२२४ नम्बरको मोटरसाइकल बरामद गरिएको उनले जानकारी दिए।
Photo1 12तीन जना व्यक्ति एक होटलमा बसेर खाजा खाइरहेको र गतिविधि शङ्कास्पद रहेको खबर पाउन साथ सशस्त्र प्रहरी बलको टोली  मठियाबाट खटिएको एसपी हुमागाईँले बताए। 
आइतबार राति साढे ८ बजेको समयमा उक्त पसलमा सशस्त्र प्रहरीको टोली पुग्दा दुई जना भागे पनि हतियार बोकेका एक जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ। 
पक्राउ परेकाको आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको रौतहट सशस्त्र प्रहरीले जानकारी दिएको छ।