इजरायल र हमासबीच गाजामा युद्धविरामको निर्णयले त्यहाँ खुसीयाली छाएको छ। इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएसँगै मानिसहरू सडकमा उत्रिएर खुसी मनाइरहेका छन्।
कतारमा इजरायल र हमासबीच युद्ध विरामको सहमति भएसँगै बन्धक रिहाइको प्रक्रिया थालिने जनाइएको छ। जसका कारण इजरायली सहरहरू र गाजामा खुसीयाली छाएको छ।
कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा जारी संयुक्त वक्तव्यमा गाजा युद्धविराम–बन्धकहरूका लागि सम्झौतामा तीन चरणमा पूर्ण रुपमा लागु हुने भनिएको छ। गाजा स्ट्रिपमा सम्झौतामा तोकिए बमोजिम मानवीय सहायतालाई द्रुत र निरन्तर वृद्धि गर्न संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गर्ने जनाइएको छ। यस्तो प्रयासलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने जनाएका छन्।
सम्झौतामा प्रारम्भिक ४५ दिनको समय सीमा राखिएको छ। युद्ध रोकिने र इजरायली सेना गाजाको बाहिरी इलाकामा जनसङ्ख्या भएको क्षेत्रबाट फिर्ता हुने, विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीमा आफ्नो निवासमा फर्कन अनुमति दिने जनाइएको छ।
सम्झौतासँगै १५ महिनादेखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको छ। अमेरिकाको बाहिरिँदै गरेको जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्ध विराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो।