भिजन लुम्बिनी लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको साधारण सभा बुटवलमा सम्पन्न भएको छ। 
भिजन लुम्बिनी लिमिटेडको नवौँ साधारण सभाले अध्यक्षमा पुनः जगत् पोखरेललाई नै निर्वाचित गरेको छ। त्यस्तै, ऊर्जा कम्पनीको पाँचौँ र छैठौँ साधारण सभाले सञ्चालक समितिका सदस्यहरू मात्रै चयन गरेको छ। ऊर्जा कम्पनीको अध्यक्षपछि चयन गरिने भएको छ।
दुवै कम्पनीका संस्थापक अध्यक्ष पोखरेलले दुवै कम्पनीका लगानीलाई पारदर्शी र अति मेहनतका साथ परिचालन गरिएको र उल्लेख्य प्रगति भएको विवरणहरू साधारण सभामा पेस गरे। निरन्तर लगाव, निरन्तर मेहनत र निरन्तर समर्पणबाटै सकारात्मक परिणाम आएको उनको भनाई थियो।
बुटवलबाट सुरु भएको दुवै कम्पनीमध्ये भिजन लुम्बिनी लिमिटेडमा एक हजार र ऊर्जा कम्पनीमा १६ सयभन्दा बढी संस्थापक लगानीकर्ता देशभरिका रहेका छन्। भिजन लुम्बिनी कम्पनीले ऊर्जा, लघुवित्त, लघुविमा, यातायात, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानी गरेको छ भने ऊर्जा कम्पनीले कास्कीमा सेती नदी जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ।
आयोजनाको काम सुरु गरेको झन्डै चार वर्षको अवधिमा २५ मेगावाटको जलविद्युत उत्पादन गरेर विद्युत् प्राधिकरणलाई बेच्न सफल भएकोमा लगानीकर्ताहरूले साधारण सभामा अध्यक्ष पोखरेलसहित बोर्ड सदस्य र कर्मचारीहरू सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
उनीहरूले आगामी दिनमा पनि यस्तै, उदाहरणीय र प्रशंसनीय आयोजनाहरू बनाउन नेतृत्वलाई प्रोत्साहन गर्दै आफूहरू थप लगानी गरेर साथ दिन तयार रहेको प्रतिबद्धता जनाएका थिए।
साधारण सभामा अध्यक्ष पोखरेलले भिजन लुम्बिनी कम्पनीमार्फत चाँडै शिक्षा, सूचना प्रविधि, ट्रमा सेन्टर निर्माण, एकीकृत कृषि, सौर्य ऊर्जा उत्पादन, विद्युत् आयोजनाहरूको मर्मत, सर्वेक्षण, निर्माण, अध्ययन अनुसन्धान, लगायतका कामहरू गर्ने योजना रहेको पनि जानकारी दिएका थिए। 
ऊर्जा कम्पनीको साधारण सभाबाट सञ्चालक समितिको सदस्यमा निवर्तमान अध्यक्ष जगत् पोखरेल, सुदिपसिंह अधिकारी, बमबहादुर गुरुङ, राजेन्द्र अधिकारी र नेहा अग्रवाललाई चयन गरिएको छ। नेहा अग्रवाल र राजेन्द्र अधिकारी सर्वसाधारण समूहबाट सञ्चालक निर्वाचित हुनुभएको हो भने बाकी संस्थापक समूहबाट निर्वाचित भएका हुन्।
त्यसैगरी भिजन लुम्बिनी कम्पनीको सञ्चालक सदस्यमा कुलबहादुर केसी, गिरिप्रसाद गैरे, कुशव कुँवर, मोहनलाल जोशी, महाप्रसाद सुवेदी, शिवप्रसाद पाण्डे, राजीव गौतम, कमला पोखरेल शर्मा पराजुली, प्रकाश पौडेल र टेकराज रेग्मी सर्व सहमत निर्वाचित हुनु भएको निर्वाचन अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए। 
दुवै साधारण सभाले अध्यक्षको प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन पारित गर्ने लगायतका निर्णयहरू पनि गरेका छन्। कार्यक्रममा उत्कृष्ट योगदान गर्ने लगानीकर्ता, कर्मचारीसँगै पत्रकारद्धय जीवन भण्डारी र कपिल ज्ञवालीलाई सम्मान गरिएको थियो।