नेपाली साहित्यका प्रथम शहीद सुब्बा कृष्णलालको स्मृतिमा कृष्णलाल लोकमार्ग नामाकरण गरिएको छ।
‘मकैको खेती’ नामक ऐतिहासिक कृतिका लेखक स्वर्गीय कृष्णलाल अधिकारीको स्मृतिमा रामेछापको मन्थलीबाट कठजोर हुँदै धोबी पुग्ने सडकलाई ‘कृष्णलाल लोकमार्ग’ नामाकरण गरिएको हो।
शुक्रवार सम्पन्न मन्थली नगरपालिकाको १६ औँ नगर अधिवेशनले सो सडकलाई कृष्णलाल लोकमार्ग घोषणा गर्ने निर्णय गरेको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए।
करिब २ किलोमिटर लामो सो सडक प्रदेश सरकार र मन्थली नगरपालिकाको लगानीमा सुधार र विस्तार हुँदै आएको छ। हाल वडा नम्बर–२ को वडा कार्यालय नजिकसम्म सडक कालोपत्रे भएको छ। सडकको थप कालोपत्रे गर्ने काम अघि बढिरहेको छ।
सुब्बा कृष्णलाल अधिकारीको जन्म विसं १९४४ साल माघ २४ गते हालको मन्थली नगरपालिका–२ मा कठजोरमा भएको थियो। राणा शासनकालमा सुब्बाको जागिरे कृष्णलालले मकैको खेती नामक पुस्तक प्रकाशन गरेका थिए। सो पुस्तकमा मकै खेतीमा राता टाउके र काला टाउके किरा लाग्छन् भनी अधिकारीले लेखेको थिए।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई मकैको खेतीमा लेखिएको काला टाउके भनेको राणाका भाइदार र राता टाउके भनेको प्रधानमन्त्री स्वयंलाई नै भनेको हो भनेर पोल लगाएर कृष्णलाललाई जेल हाल्न उक्साएका थिए। सोही आरोपमा अधिकारीलाई तत्कालीन राणा श्री ३ चन्द्रशमशेरले १९७७ साउन ११ मा ९ वर्ष कैद सुनाए र जेल हालेका थिए।
नेल र हतकडीसहित कठोर यातना दिई जेल भित्र राखिएका अधिकारीलाई प्रकाशित सबै पुस्तक बुझाएमा तीन वर्ष कैद मिनाहा गर्ने भनिएको थियो। एक हजार प्रति प्रकाशित गरिएको उक्त पुस्तकका ९ सय ९९ प्रति भेटिए र ती सबै जलाइए। एक प्रति पुस्तक भने नभेटिएको कारण उनको कैद सजाय घटेन।
जेलमा रहेका अधिकारीलाई क्षयरोग लाग्यो। त्यही रोगले थलिएर अधिकारीको वि.सं.१९८० मा जेलमा नै निधन भयो। कृष्णलालको स्मृतिमा उनको जन्मथलो कठजोरमा अर्ध कदको सालिकसहितको पार्क पनि निर्माण भएको छ।