सिरहा। शुभ नारायण सदा र सुमित्रा सदाको बसेरा ‘ओडार युगको घर’ जस्तै छ। वैशाखको टन्टलापुर घामले पिठ्युँ डढाउँछ, र्खेझरीमा घरभित्रै निथ्रुक्क रुझ्नु, मैनावत्ती खोलाको भेलले बगाउने त्रासमा रात भरी जाग्राम बस्नु र शीतलहरमा कठ्याङ्ग्रिनु उनको जीवनभरको भोगाइ हो। त्यस कारण मैनावत्ती नदीको पुलमुनि विगत एक दशकदेखि आश्रय लिएर बसिरहेका छन्। 
पुस महिना तराईको कठ्याङ्ग्रिने शीत लहर छ। सदा दम्पतीले खर बटुलेर, पराल मागेर, बनमाराको स्याउला काटेर पुलको पिलर मुनि आश्रय स्थल बनाएका छन्। पुराना जडाउरी मागेर आङ्ग ढाकेका छन्। न ओढ्ने छ, न ओछ्याउने। घरमा अन्नको गेडो पनि छैन। शीत लहर चलेकाले कतै मजदुरी पनि पाइँदैन। चिसो रातमा भोको पेट। पुल मुनिको बास छ। कसरी बाँचेको हुनुहुन्छ ? भन्ने प्रश्नमा सुमित्रा भन्छिन्,‘आगोको सहारा छ। भोक लागे पनि आगो ताप्छौं जाडो भएपनि आगो ताप्छौं। शुभ नारायण भन्छन्,‘बाँचेका छैनौँ, मृत्यु पर्खेर बसेका छौँ। मरेपछि यहाँबाट पल्टाइ दिन्छन्। नदीमै छौँ। चार चपरी माटो हालेर पुरिदिन्छन्। सकियो मुसहरको जीवन।’
‘नेपाल राज्यमा हामीले बाचुन्जेल लमतन्न भएर सुत्न एउटा खट राख्ने जमिन पनि पाएनौँ। ठुला जातिका धनीमानीहरुले हामीलाई बस्तीबाट उठिबास लगाएर खेदे,’शुभ नारायणले दुखेसो पोखे। 
मानव गोल बजार नगरपालिका–११ बलकवा बजार पुग्नुअघि मैनावत्ती नदीको पुल पार गर्नु पर्छ। यो पुल मुनि मैनावत्तीको बगरमा झन्डै ४० घर मुसहर परिवार बस्दछन्। पूरै बस्तीमा अहिले अनिकाल छ। प्रायः सबै घरमा चुल्हो बाल्न हम्मे हम्मे छ। ओढ्ने ओछ्याउनेको कमी छ। काठ पात र कसमल समेतको अभावले आगो बाल्न पनि मुस्किल छ। तिर झैँ शरीर घोच्ने पश्चिमी सिरेटोले अधिकांश केटाकेटी बिरामी परेका छन्। भोक भोकै रात बित्छ।
नेपाली कांग्रेसका नेता राजवृक्ष साह भन्छन्,‘शीतहलरका कारणले रोजगारी पनि पाइँदैन र काम गर्न सक्ने मौसम पनि छैन। मुसहर समुदायको बिजोग भएको छ,’साह भन्छन्,‘तत्कालै मुसहर बस्तीमा खाद्यान्न। ओढ्ने, ओछ्याउने, न्यानो कपडा र औषधी उपचारको खाँचो छ। राहत नदिने हो भने मुसहर बालबालिकाहरू चिसोले मर्न सक्छन्। पूरै मुसहर बस्ती सङ्कटमा छ।’ 
गोल बजार नगरपालिकाले अन्न र कपडा त परै जाओस् जाडोमा दाउरा समेत दलित मुसहर बस्तीमा पु¥याउन सकेको छैन। बजार क्षेत्रमा धनी मानी माझ दाउरा वितरण गरियो तर जहाँ गरिब, दलित मुसहर छन् त्यहाँ नगरपालिकाको आँखा परेन,’शुभ नारायण सदाले आक्रोश पोख्दै भने,‘पाँच पटक लीला मालिक र श्याम मालिक दाजुभाइलाई (सांसद लीलानाथ श्रेष्ठ र मेयर श्याम कुमार श्रेष्ठ) भोट हाल्यौ तर हाम्रो अवस्था यस्तै छ। पुल मुनि छौँ।’
पुलमाथिबाट आउजाउ गर्नेहरूलाई पुल मुनिको मुसहर बस्ती कठाङ्ग्रिने शीतलहरमा भोको पेट सुतेको थाहा पाउँदैनन्। तर नगरपालिकालाई पनि दलित मुसहर समुदायको अवस्थाबारे बोध र चेत छैन–मुसहर समुदायका अगुवा अरुण सदाले रोष प्रकट गरे।
अगुवा अरुण सदा भन्छन्,‘यो पुलको आडैमा भवरी मेला (धार्मिक जात्रा) लाग्दछ। आउँदो माघ १ देखि ७ गतेसम्म यहाँ ठुलो मेला लाग्छ। मेलाका लागि पसल थाप्न जग्गा बाँडफाँट हुँदै छ। नगरपालिकाले जात्राका लागि लाखौँ रुपैयाँ सहयोग दिएको छ तर यो मुसहर बस्तीमा नगरपालिकाको नजर पुगेको छैन। यसरी समाजवाद ल्याइदैछ नेपालमा।’