सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२, थुम्लिङमा गए राति भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ। अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको वडा सदस्य हिराकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो। खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए।
बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए।
थप अनुसन्धानका निम्ति प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको छ।
आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका निम्ति जिल्ला अस्पताल फाप्लुमा ल्याइएको प्रजिअ घिमिरेले बताए।