संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै पार्टीको साथ सहयोगले देशमा रहेका विकृति र विसङ्गतिहरू हटाउन सकिने बताएका छन्।
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले बलियो गठबन्धनले दिने राजनीतिक स्थिरतामा माओवादी, समाजवादी र जसपालगायत सबैको साथ सहयोगले मात्र देशले एउटा सकारात्मक बाटो तय गर्न सक्ने बताएका हुन्।
उनले भने, ‘हामी अहिले निकै ठुलो अप्ठ्यारोमा छौँ। जति पनि समितिमा जति पनि विषयहरू उठ्छन् र सरकारमा गएर हामीहरूले काम गर्ने कोसिस गरिरहेका छौँ। सबै अप्ठ्यारा समाधानका निम्ति निकै ठुलो तत्परता चाहिन्छ। राजनीतिक सन्दर्भमा पनि दुई ठुला दल एक ठाउँमा आउने गठबन्धन बनाउने र स्थिर सरकार दिएरै थुप्रै विकृति र बिसंगतीसँग लड्न सकिन्छ की भन्ने कुराको सदिक्षा हो। यसको अर्थ यो होइन की अरू राजनीतिक दलहरू निषेधमा परुन्, बलियो गठबन्धन, बलियो गठबन्धनले दिने राजनीतिक स्थिरता त्यसमा सबैको साथ सहयोग माओवादी, समाजवादी, जसपा र राप्रपालगायत सबैको साथ सहयोग भएपछि मात्रै देशले एउटा सकारात्मक बाटो तय गर्न सक्छ।’
यसैगरी, उनले अहिले दिन प्रतिदिन युवाहरूमा निराशा बढ्दै गइरहेको बताए। उनले युवाहरु रोजगारीका लागि विदेश पलायन धेरै नै बढी रहेको बताए। यसैगरी, मन्त्री पाण्डेले कुनैपनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारे।
उनले भने, ‘मेरो कुनैपनि विभागीय कर्मचारीहरुमथि पूर्वाग्रह छैन। कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु।’
उनले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनमा कमजोरी रहेकै कारण घाटामा गएको उद्घोष गरे। उनले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौँ भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायले ध्यान दिनुपर्ने समेत उल्लेख गरे।
उनले नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे । मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरुमा समेत नियमित विमान सञ्चालन र ठुला विमान समेत उडान हुनु पर्नेमा प्रष्ट पारे।
त्यस्तै छलफलमा भाग लिदैं नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा समिति सदस्य माधव कुमार नेपालले,वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनमा कहाँ –कहाँ समस्या छ त्यसको बारेमा ठिक ढङ्गले छलफल गर्नुपर्नेमा जोड दिए। वायु सेवा निगमको विमान सेवा सञ्चालनमा देखिएको समस्याको अध्ययन गर्ने एउटा समिति निर्माण गरी र विस्तृत अनुसन्धान र अध्ययन गरेर समस्या समाधान तर्फ लाग्नु पर्ने उनको सुझाव छ।
उनले भने,‘नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनमा कहाँ कहाँ समस्या छ त्यसको बारेमा ठिक ठिक ढङ्गले छलफल गरौँ। म सभापतिलाई भन्न चाहन्छु। यसबारे अध्ययन गर्ने एउटा समिति निर्माण गरौँ। र समस्या समाधानको लागि समितिको सदस्यहरूको पनि सुझाव लिने विज्ञहरूको। पनि राय लिने र जति समय पनि लागोस् तर विस्तृत अनुसन्धान र अध्ययन गरेर समस्या समाधान तर्फ लागौँ। ’