चीनको तिब्बतमा गएको भूकम्पबाट नेपालमा पनि सामान्य क्षति भएको छ। भूकम्पबाट ओखलढुंगामा एउटा माटोको घर चर्किएको नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले जानकारी दिए।
उनका अनुसार, संखुवासभामा टिनको छाना भएको एउटा घरमा सामान्य क्षति पुगेको छ। रामेछापमा एउटा गोठमा क्षति पुगेको छ। यस्तै, सिन्धुपाल्चोकको फुल्पिङकट्टीस्थित प्रहरी चौकीको भवनको भित्ता चर्किएको छ।
उनका अनुसार, बारामा ११ विद्यार्थी बेहोस भएका छन्। तर, उनीहरूको अवस्था अहिले सामान्य छ।
यस्तै, काठमाडौंको स्युचाटारमा एक व्यक्तिलेले छतबाट हाम फालेका छन्। उनको दुवै खुट्टामा चोट लागेको प्रवक्ता अधिकारीले बताए। उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ।
'खासै क्षति भएको छैन। अहिलेसम्म केही ठाउँमा सामान्य क्षति भएको जानकारी पाएका छौँ। हामीले विवरण संकलन गरिरहेका छौँ,' अधिकारीले भने।
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय) मा ७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए। भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न भागमा महसुस गरिएको थियो।