रौतहटको यमुनामाइ गाउँपालिकाको बमनहर चोकबाट प्रहरीले भन्सार छली गरेर ल्याएको चिनी र कपडा बरामद गरेको छ। 
भारतबाट अवैध रुपमा नेपाल ल्याएर विभिन्न सवारीमार्फत लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो। 
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार यमुनामाई गाउँपालिका वडा न ४ बमनहर चोकमा सवारी चेकजाँच गर्ने क्रममा बरामद गरिएको छ। 
जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले विभिन्न सवारी र पैदल यात्री लाई चेकजाँच गर्ने क्रममा फेला परेको उनले जानकारी दिए।
प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ना १ ह ७२०८ को अटो रिक्साबाट एक लाख ३७ हजार ५ सय २१ रुपैयाँ बराबरको चिनी र कपडा बरामद गरेको उनले बताए। 
अटो रिक्साको मूल्याङ्कन २ लाख गरी तिन लाख ३७ हजार ५ सय २१ रुपैयाँ कायम गरी गौर भन्सार कार्यालयमा बुझाइएको रौतहटका प्रहरी निरीक्षक महतोले बताए पछिल्लो समयमा भारतसँग सीमा जोडिएको रौतहटमा विभिन्न नाकाबाट अवैध रुपमा विभिन्न सामनहरु तस्करी हुने गरेको छ। 
भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन्। विभिन्न नाकाबाट तस्करीको माध्यमबाट नेपालमा सामान भित्रन थालेपछि सरकारको राजस्वमा समेत प्रभावित हुँदै आएको छ। 
लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाँध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बंकुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्री तस्कर गर्ने गरेको पाइन्छ।
लत्ताकपडा, शृङ्गारका सामान, ईलोक्ट्रोनिक्स उपकरण र खाद्यान्न लगायतका सामनहरुको तस्करी समेत बढेपछि रौतहट प्रहरीको टोलीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ।