तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा टिम सहभागी हुने भएको छ। आइतबार क्लबले खेलाडी लिलामी कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा ८ वटा टिमहरू सहभागी हुने जानकारी गराएको हो।
कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा लिलामी कार्यक्रम भएको छ। 
हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म प्रतियोगिता हुनेछ। कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य यज्ञबहादुर रायको पनि उपस्थिति रहेको थियो।
हेटौँडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको सहयोग रहने प्रतियोगितामा कमाने अर्ना, कमाने हन्टर्स, कमाने टाइगर, कमाने बुल्स, कमाने रोयल्स, कमाने लायन्स, कमाने राइनोज र कमाने राइडर्स गरी ८ वटा टिमको सहभागिता रहनेछ।
खेलाडी लिलामी कार्यक्रममा सहभागी भएका ९८ जना खेलाडीलाई क्याटग्योरी ‘ए’देखि ‘पी’सम्म छुट्याएर छुट्टाछुट्टै टिममा सहभागी गराइएको छ। क्लबले जिल्ला स्तरीय, प्रदेशस्तरीय तथा राष्ट्रिय स्तरको प्रतियोगिता मा भाग लिएका ८ जना खेलाडीलाई पनि प्रतियोगितामा सहभागी गराउन लागेको छ।
लिलामी कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वडाध्यक्ष थापाले वैदेशिक रोजगारी तथा उच्च शिक्षा हासिल गर्ने बहानामा युवा विदेशिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ। युवा पुस्तालाई विदेशिनबाट रोक्नका लागि खेलकुदमा सहभागी गराएर राष्ट्रिय स्तरमा पुर्‍याउन आवश्यक रहेको उनले औँल्याए। प्रतियोगिताको तेस्रो संस्करणसम्म आइपुग्दा वडाको स्तरलाई बढाएको आफूले मूल्याङ्कन गरेको उनले बताए।
कमानेभित्रका खेलाडीहरूको पहिचान बढाउन, क्रिकेट खेलको क्रेज बढाउन, खेलाडीहरुबीच भातृत्वको सम्बन्ध कायम गराउन, खेलाडीलाई राष्ट्रिय स्तरमा पुर्‍याउन र क्रिकेट खेलको महत्वबारे बुझाउनका लागि यस वर्ष पनि क्लबले प्रतियोगितालाई निरन्तरता दिन लागेको अध्यक्ष खत्रीले बताए। उनका अनुसार प्रतियोगिताका लागि वडा कार्यालयले २ लाख रुपैयाँ बजेट छुट्याएको छ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार जनकपुर बोल्ट्सका ओपनर उत्सव सिग्देलले प्रायोजन गर्ने घोषणा गर्नुभएको छ। उहाँले क्लबले गर्न लागेको प्रतियोगिताबारे यस वर्षबाट मात्र थाहा पाएको भन्दै पुरस्कार सौजन्य गर्ने निर्णय गरेको बताए।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट ब्याट्सम्यान र सर्वोकृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ। गत वर्ष भएको दोस्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने राइडर्सले जितेको थियो।