रौतहटको दुई पालिकाको विभिन्न स्थानमा रहेको बस्तीमा १२ भन्दा बढी घर हात्तीले भत्काइदिएको छ।
जङ्गली हात्तीको बथानले करिब दुई साताअघि चन्द्रपुर नगरपालिकामा ८ र फतुवा विजयपुर नगरपालिकामा ४ घर भत्काएको हो। चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा ७ र वडा नम्बर २ को जुडिबेलामा एक घर भत्काएको छ। गैडाटारका स्थानीय नवीन तमाङ्गका अनुसार सन्त बहादुर रुम्बा, मिना राई, छे नाम सिंह लोप्चन, बली माया लोप्तन, बोम्जन साईला, सुवास ठोकर, साईला गोलेको घर जङ्गली हात्तीले भत्काइदिएको छ।
हात्तीले जुडिवेलामा रहेको एक घर भत्काएको छ भने कालापानी सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रमा निर्माण पार्क र पानी घट्टमा पनि क्षति पुर्याएको उनले बताए। चन्द्रपुर नगरपालिका अन्तर्गत वडा नम्बर २ को जुडिबेला, ३ गैडाटार , वडा नम्बर ४ कप्तान टोल र जंगलटोल क्षेत्रमा हात्तीले घर, टहरा, गोठ र धानको भकारी भत्काउनुका साथै किसानको बालीमा समेत क्षति पुरयाउदै आएपछि यहाँका बासिन्दा चिन्तित भएका छन्।
फतुवा विजयपुर नगरपालिका वडा नं. ११ वुटवा बस्तीमा ४ घर हात्तीले भत्काइदिएको छ। स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर ,हरिशरण मैनाली , लगायतका घरमा हात्तीले क्षति पुर्याएको छ। विगत केही महिना देखि नगर भित्र रहेको जङ्गलमा देखा परेको हात्ती बेलुका र बिहान बस्ती नजिकमा आउने गरेको स्थानीयले बताएका छन्। हात्तीले केरा खतीमा बढी क्षति गरेको किसानको गुनासो छ।
सामुदायिक वन क्षेत्रमा ७÷८ वटा समूहमा नै हात्ती देखा परेको उनीहरू बताउँछन्। उनीहरूका अनुसार हात्ती यस क्षेत्रको बन वरीपरि नै छ। गाउँ नजिकै रातिको समयमा हात्ती देखा पर्न थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेका छन्। रातैभर हात्तीको उपद्रोका कारण सुत्न समेत नपाएको गाँउलेहरुको गुनासो छ। गाउँ नजिक सामुदायिक वन रहेकाले त्यहीबाट हात्ती प्रवेश गरेको हुन सक्नै भन्दै सतर्कता अपनाउन सवैमा डिभिजन वन कार्यालय रौतहटले सुझाव दिएको छ। जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन र झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।