नेपाली कांग्रेसका नेता एवम् पूर्व उद्योग वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाइका लागि भवन निर्माण गरिदिएका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित बराह मन्दिर परिसरमा नेता विश्वकर्माले आफ्ना स्वर्गीय बुवा आमाको स्मृतिमा ‘टिका–बखत भवन सामुदायिक भवन’ निर्माण गरेका हुन्।
आइतबार उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको उद्घाटन गर्दै बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई हस्तान्तरण गरे। नगरपालिकाले उक्त भवनबाट सामुदायिक स्वास्थ्य इकाईको सेवा सञ्चालन गर्नेछ।
हाल कांग्रेसको केन्द्रीय सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुखसमेत रहेका नेता विश्वकर्माले आफ्ना स्वर्गीय आमा टिकामाया र स्वर्गीय बखतबहादुरको सम्झनामा उक्त भवन निर्माण गरेका हुन्। भवन निर्माणका लागि करिब ६० लाख रुपैयाँ खर्च भएको छ।
बराह क्षेत्र मन्दिरमा आउने भक्तजन, तीर्थालुसहित स्थानीय बासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको नेता विश्वकर्माले बताए।
‘दुई वर्ष लगाएर यहाँ भवन निर्माण भएर अब सामुदायिक स्वास्थ्य इकाई सञ्चालनको अवस्था बनेको छ। यसले मन्दिरमा आउने धर्मावलम्बी र स्थानीय बासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्नका लागि सहज हुन्छ भन्ने अपेक्षा राखेको छु,’ उनले भने।
भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले मन्दिर क्षेत्रको पवित्र स्थलमा सेवा भावले भवन निर्माण गरी अब स्वास्थ्य इकाई सञ्चालन हुन लागेकोप्रति खुसी व्यक्त गरे। उनले भवन निर्माणका लागि विश्वकर्मा परिवारको प्रशंसा समेत गरे।
सो अवसरमा जोखिममा रहेको बराह क्षेत्र बचाउन बराहक्षेत्र गुठी व्यवस्थापन समितिले उपप्रधानमन्त्री सिंहलाई ज्ञापन पत्र समेत बुझायो । बराहक्षेत्र मन्दिर परिसर र बस्ती नै गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले जोखिममा परेको उनीहरूको भनाइ छ । भवनमा बिरामी जाँच कक्ष, स्वास्थ्यकर्मी आवास, सभा हल र पाहुना कक्ष समेत रहेका छन् ।