सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरूले थुनछेक बहस गर्दैछन्।
जिल्ला न्यायाधीश नितिश राई को इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरूले थुनछेक बहस गर्न लागेका हुन्।
यस अघि सोही प्रकरणमा पूर्व डिआइजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक बहस भैसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी एमाले नेत्री एवम् गण्डकी प्रदेश सभाकी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन् बाँकी रहेको छ।
यसैबीच रवि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानुन व्यवसायी यज्ञमणि न्यौपानेले सहकारी पीडितहरूले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलासमा कुरा उठ्न थालेको बताएका छन्।
सहकारी पीडितहरूले बचत रकम फिर्ता पाउनुपर्ने मागसहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पीडितहरूले आफ्नो बचत रकम नपाउने परिस्थिति बन्दै गइरहेको बारे इजलासमा छलफल भएको अधिवक्ता न्यौपानेले बताए।
अहिले रवि लामिछाने लगायतलाई लगाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाका कारण सहकारी पीडितहरूले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानुन व्यवसायीहरूले बताउँदै आएका छन्।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने हिरासतबाट छुट्ने कि नछुट्ने भन्ने बारेमा इजलासमा बहस चलिरहँदा उनका शुभचिन्तकहरू भने सर्वसाधारणले रकम उठाएर भए पनि लामिछानेलाई लाग्ने धरौटी बुझाउन तयार रहेको बताउन थालेका छन्।
अर्कातिर रवि लामिछानेलाई जसरी पनि जेलमा कोच्ने गरी अदालतमा बहस गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री जिता बरालले ती कानुन व्यवसायीहरू प्रति आक्रोशित पोखेकी छिन्।