मोरङको बेलबारी नगरपालिका-१ नक्सालबारीमा यहि पौष २३ गतेदेखि माघ १ गतेसम्म पाँचौं माघे संक्रान्ति खुला नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ।
माघे संक्रान्ति पर्वको प्रवर्द्धन र संस्कृति जगेर्ना गर्ने मूल उद्देश्यका साथ बेलबारी नगरपालिका १ स्थित नक्सालबारी खेल मैदानमा फुटबल प्रतियोगिता हुने भएको हो। नक्सालबारी फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा जनज्योति क्लब र नेपाल मगर सङ्घ, नक्सालबारी संयोजक रहनेछन्।
बेलबारी नगरपालिकाको मुख्य सहयोगमा हुने प्रतियोगितामा मोरङ, सुनसरी र झापाका ८ टीम सहभागी हुनेछन्। प्रतियोगितामा डाँगीहाट फुटबल क्लब, लेटाङ फुटबल क्लब, केराबारी, इटहरी, तालतलैया एकेडेमी क्लब, सतिसाले स्पोर्टिङ क्लब, पथरी, रोयल स्पोर्टिङ क्लब, दमक, इन्ट्रा क्लब, पानमारा फुटबल क्लब धरान र आयोजक नक्सालबारी फुटबल क्लब, बेलबारी सहभागी हुने जनज्योति क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक बुद्ध याक्खाले बताए।
प्रतियोगिताका लागि वडाध्यक्षका रुपमा र व्यक्तिगत सहयोग गर्ने बेलबारी १ का वडाध्यक्ष मणि पुलामी मगरले बताएका छन्। प्रतियोगितामा विजेता टीमले ट्रफी र मेडलसहित १ लाख १ हजार रुपैयाँ र दोस्रो हुने टीमले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितालाई सीजी ब्रुअरीले प्रायोजन गरेको छ। प्रतियोगिताका लागि नक्साल सामुदायिक वन, सुनाखरी बहुउद्देश्यीय सहकारी संस्था लगायत विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले पनि सहयोग गरेका छन्। करिब ८ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएका छन्। प्रतियोगितामा स्थानीय क्षेत्रमा कार्यरत सञ्चारमाध्यमहरु मिडिया पार्टनर रहनेछन्।