बेलबारी, मोरङ । कोशी प्रदेशलाई मूल कार्य थलो मानेर गत साल स्थापना गरिएको कण लघुकथा मञ्चले विद्यालय तहमा लघुकथा–लेखनलाई प्रशिक्षणका रूपमा अघि बढाएको छ। ‘घुम्ती लघुकथा प्रशिक्षण’ कार्यक्रम पहिलो पटक बेलबारी नपा–०१, मोरङस्थित सगरमाथा इङ्ग्लिस स्कुलमा प्रारम्भ गरिएको थियो।
कार्यक्रममा मञ्चका अध्यक्ष दीप मङ्ग्रातीले लघुकथाको बारेमा, उपाध्यक्ष उमा सिजापतिले लघुकथाको इतिहास र सदस्य विष्णु भण्डारीले लघुकथाको महत्वको बारेमा कक्षा ९, १०, ११ र १२ का एक सय विद्यार्थीहरूलाई सैद्धान्तिक, प्राविधिक पाटोको प्रशिक्षण दिएका थिए।
“लघुकथाको अर्थ छोटो कथा नै हो तर अहिलेको नयाँ परिभाषाअनुसार अलग पहिचान हुने गरी कुनै संवाद, वर्तमान घटना तथा परिवेशमा रहेर २५० शब्दमा नबढाई लेखिएको छोटो आख्यानलाई लघुकथा भनेर बुझ्नुपर्छ। लघुकथाका मुख्य अङ्गहरूमा शीर्षक, उठान, पात्र, विषयवस्तु, विकास र समापन रहेको” मञ्च अध्यक्ष मङ्ग्रातीले बताए।
उक्त कार्यक्रमका सहभागी विद्यार्थीहरूलाई एक हप्ताभित्र ‘शिक्षाको महत्त्व’, ‘चरित्र’, ‘छोरा र छोरीमा भेदभाव’, ‘अनुशासन’, ‘बाबा’ र ‘आमा’ छओटा शीर्षकहरूमा लघुकथा लेखेर बुझाउने सिर्जनात्मक गृहकार्य दिइएको छ।

कार्यक्रमकी अतिथि बेलबारी प्रज्ञा–प्रतिष्ठान, मोरङकी अध्यक्ष रेखा सुवेदीले मञ्चबाटै प्रकाशित संयुक्त लघुकथा सङ्ग्रह ‘कण’मा सङ्गृहीत उनको लघुकथा ‘पत्रु काया’ वाचन गरेकी थिइन्।
कार्यक्रमपश्चात् स्कुलका प्रिन्सिपल इरनकुमार राईले यस्ता सिर्जनात्मक तथा सिपमूलक प्रशिक्षणहरू स्कुलमा गरिँदै आएको हुनाले विद्यार्थीहरूले लाभ लिइरहेको बताए।