रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविराम भन्दा पनि दीर्घकालीन शान्ति चाहिएको प्रतिक्रिया दिएका छन्। त्यस क्रममा उनले युक्रेनमा आफूले लक्ष्य प्राप्त गरेको दाबी पनि गरे।
बिहीबार मस्कोमा आयोजित वार्षिक प्रश्नोत्तर कार्यक्रममा उनले युक्रेन अपरेसनले ठुलो परिवर्तन आएको र रुसी सेनाले आफ्नो प्राथमिक लक्ष्य हासिल गर्न अगाडि बढिरहेको बताए।
तपाईँ युक्रेनसँग कुनै सम्झौताका लागि तयार हुनुहुन्छ भन्ने प्रश्नमा पुटिनले राजनीति भनेकै सम्झौताको कला भएकाले रुस सधैँ सम्झौता र संवादका लागि तयार रहेको बताए।
उनले रसियाली सेनाहरू युद्ध भूमिमा प्रगति गरिरहेकाले युक्रेनी सेनाहरू लगातार पछि हटिरहेको पनि बताए। उनले युक्रेनसँग वार्ता सुरु गर्न रुसको कुनै पूर्वशर्त नरहेको बताउँदै हालको अवस्थालाई ध्यानमा राख्दै इस्तानबुल सम्झौताका आधारमा वार्तामा सहभागी हुन आफू तयार रहेको बताए।
उनले युक्रेनी सङ्कटमा चीन, ब्राजिल र दक्षिण अफ्रिकाले राखेका शान्ति प्रस्तावको प्रशंसा गर्दै दुवै पक्षलाई कुनै मुद्दा अगाडि नबढाई समाधान खोज्ने वास्तविक प्रयास भएको बताए। प्रश्नोत्तरमा उनले आफू युक्रेनसँग सम्झौताका लागि तयार रहेको र ट्रम्पसँग वार्ता गर्न इच्छुक रहेको बताए।
पुटिनले बिहीबार मस्कोमा प्रश्न र उत्तर सत्रको साथ आफ्नो वार्षिक पत्रकार सम्मेलन गरेका थिए। साढे ४ घण्टा लामो प्रश्नोत्तर चलेको थियो।