धनकुटा जिल्लाको सान्ने घर भइ हाल मोरङ बिराटनगर महानगरपालिका वडा नं. १४ मा गेस्ट हाउस सञ्चालन गर्दै आएका वर्ष ४१ का नेत्र बहादुर पाण्डेको असामयिक निधनपछि उनकी छोरीहरू डेनिसा पाण्डे र चेल्सिया पान्डे किरियामा बसेका छन्। ४१ वर्षीय व्यवसायी पाण्डेको मिर्गौलामा समस्या देखिएर शनिबार निधन भएको थियो।
आमा मैयाँ पान्डेसँगै दुई छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन्। दुवैले घाटमै पुगेर बाबुलाइ दागबत्ती दिएका थिए। रुढीबादी र गलत संस्कार तोड्दै आफूहरूले बाबुको किरिया गरिरहेको डेनिसाले बताइन्। ‘छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो,’ उनले भनिन्, ‘उहाँका सन्तान बहिनी र म मात्र हौं, बुवाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौँ।’ सुरुका केही दिन आफन्त र छिमेकीले असहज माने पनि अहिले प्रशंसा गरिरहेका उनले बताइन्।
दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन्।