नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको पालिका सभापतिहरूको भेला सुरु भएको छ। मंगलबार विराटनगरको जैन भवनमा आयोजित भेलामा कोइरालासहित डा. मीनेन्द्र रिजाल, गुरु घिमिरे, राजीव कोइरालालगायत नेता सहभागी छन्।
भेलामा पार्टीका पालिका सभापतिहरूसहित कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थिति छ। आजै यसअघि पालिका सभापतिहरूले मोरङको बेलबारीमा पदयात्रा गरेका थिए। इलाम, ताप्लेजुङ, भोजपुरलगायत जिल्लाका पार्टी सभापतिहरूले बेलबारीको बेतनादेखि लोहन्द्रा खोला पुलसम्म पदयात्रा गरेका थिए। बेलबारी हुँदै उनीहरू विराटनगर आएका हुन्।
आयोजक नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले कार्यक्रममा पालिका सभापति र कांग्रेस कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको बताए।
यही मंसिर २२ गते कांग्रेस कोसी प्रदेश समितिको भेला विराटनगरमै आयोजना गरिँदै छ। उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि हुनेछन्।
कांग्रेस केन्द्रीय कार्यालयले भने जिल्ला समितिका नाममा पत्र पठाएर मंगलबारको कार्यक्रम पार्टीको आधिकारिक नभएकाले सहभागी नहुन भनेको थियो।