नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित जागरण सभालाई सम्बोधन गदै उनले बाहिरतिर यही मंसिरसम्म मात्र अहिलेको समीकरण जान्छ भन्ने हल्ला भएको भन्दै यसमा जनतालाई कुनै भ्रममा नपर्न आग्रह गरे।
उनले भने, ‘बाहिर हल्ला सुनिएको थियो मंसिरसम्म मात्र यो समीकरण टिक्छ भनेको सुन्छु। तर ०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ। सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ। मेरो अवधि भनेको वा म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु। त्यसपछि मैले प्रधानमन्त्री छोडेर शेर बहादुर देउवालाई जिम्मा लगाउँछु। अब मैंले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउनुहुन्छ। जनतालाई म भन्न चाहन्छु यस्ता कुनै भ्रममा नपर्नुहोस्।
प्रधानमन्त्री ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताए।
उनले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए।
उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउँदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली कांग्रेससँग सहयात्रा गरिएको उनको भनाई छ।