साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट किन्नेहरूको ललितपुरको जावलाखेलमा बिहानैदेखि लाइन लागेको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले जावलाखेल चोकबाट बिहान ८ बजेदेखि टिकट बिक्री शुरू गरेको छ। एन्फाले टिकट बिक्री शुरू गरेसँगै बिहानैदेखि मानिसहरू लाइनमा बसेका हुन्।
एन्फाले जावलाखेल मैदान र भद्रकालीको आर्मी गेटबाट टिकट बिक्री गरेको छ। यसपटक अनलाइनबाट नभई भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था एन्फाले गरेको छ।
फुटबल प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार जना अट्ने क्षमताको छ।
तर, एन्फाले जम्मा ११ हजार टिकट बिक्री गरिने जनाएको छ। जसमध्ये १० हजार साधारण पारापिटतर्फ र १००० भीआईपी पारापिट तर्फको टिकट बिक्री गर्दै छ।
नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि शुरू हुने छ। फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशाला जाने छन्।