पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पूर्जी लिएर प्रहरीले २ कात्तिकमा लामिछानेलाई पक्राउ गरेको थियो। बिहीबार म्याद थपका लागि जिल्ला अदालत, कास्कीमा उपस्थित गराउँदा सम्पत्ति शुद्धीकरणको मुद्धा पनि थपिएको छ।

प्रहरीले भने ‘सहकारी ठगी, संगठित अपराधमा अनुसनधान भइरहेको थियो। अब सम्पत्ति शुद्धीकरणको मुद्धामा पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं,’ कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले भने, ‘यसको प्रतिवेदन तयार पार्ने काम भइरहेकाले कसरी पेश हुन्छ भन्नेबारे भने अहिले नै भन्ने सकिने विषय भएन।’

आफूमाथि सम्पत्ति शुद्धीकरणको मुद्धामा पनि अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएपछि लामिछाने बिहीबार इजलासमै आक्रोशित रुपमा प्रस्तुत भएका थिए। तर अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा देशका विभिन्न ५ सहकारीबाट ६५ करोड रुपैयाँ रकम गएको प्रतिवेदनमा छ।

सो रकम अपचलनमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, पूर्वसञ्चालक तथा प्रवन्ध निर्देशक रवि लामिछाने, पूर्वडिआईजी समेत रहेका पूर्व सञ्चालक छविलाल जोशी र सूर्यदर्शन सहकारीको कोषाध्यक्षसमेत रहेका गोर्खा मिडियाकै सञ्चालक कुमार रम्तेललाई कानुनअनुसार कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो।

समितिको सिफारिस र कास्की प्रहरी कार्यालयमा परेको पुरक जाहेरीका आधारमा छविलाललाई गत असोज ६ गते र रविलाई गत शुक्रबार पक्राउ गरिएको हो।

पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको लामो समय भइसके पनि जीबी अहिलेसम्म फरार छन् भने रम्तेल यसअघि नै पुर्पक्षका लागि कास्की कारागारमा छन्। जीबीको नेतृत्वमा लामिछाने समेतले सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीबाट गोर्खा मिडियामा रकम लगेर अपचलन गरेको, दुई वा दुई जनाभन्दा बढी समूह मिलेर दुरुपयोग गरेकाले सहकारी रवि र छवि दुबैलाई सहकारी ठगी तथा संगठित अपराधमा मुद्धा दायर गरेर अनुसन्धान भइरहेको थियो।

बिहीबारबाट सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि अगाडि बढेको प्रवक्ता शर्माले जानकारी दिए।

सहकारीबाट प्रत्यक्ष रुपमा गएको नदेखिएपनि अप्रत्यक्ष रुपमा रकम व्यक्तिले पनि आर्जन गरेको हुनसक्ने भएकाले सम्पत्ति शुद्धीकरणको मुद्धा पनि आकर्षित भएको प्रहरीको भनाइ छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले सम्पत्ति शुद्धीकरणको मुद्धा पनि आकर्षित भएको र अनुसन्धान प्रतिवेदन आएपछि कसरी दायर हुन्छ भन्न सकिने बताइन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा छविलाई बयानका लागि रुपन्देही पुर्‍याएर बुधबार मात्र पोखरा ल्याइएको थियो। बिहीबार नै बुटबलको सुप्रिम सहकारीको ठगी र संगठित अपराधको मुद्धामा रविसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

यससँगै रविको मुद्धा झनै पेचिलो बन्न पुगेको छ। अब रवि जोडिएका विभिन्न सहकारीको प्रकरणमा समेत उनलाई बयानका लागि लगिने देखिएको छ।

राजनीतिक प्रतिशोध साँधेर रविलाई पक्राउ गरेको भन्दै पोखरा केन्द्रित प्रदर्शन गर्दै आएको रास्वपाले भने अब भने काठमाडौँ केन्द्रित दबाबमुलक कार्यक्रम गर्ने बताएको थियो। बिहीबार आयोजित पत्रकार सम्मेलनमा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले रविलाई सिध्याउने प्रपञ्च रचिएको बताए।