मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको छ। सुईना कर्णाली मुगु, खत्याड गाउँपालिका–३ को संयुक्त आयोजनामा र खत्याड गाउँपालिकाको आर्थिक सहयोगमा बुधवारदेखि खत्याड गाउँपालिकाको कालिका माध्यमिक विद्यालय बुगामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको हो।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराको साथ सुरु भएको प्रथम रारा खत्याड च्याम्पियनसिप गोल्डकपमा फुटबल, महिला पुरुष भलिबल खेल सञ्चालन गरिने आयोजक स्रोतले जनाएको छ।
प्रतियोगितामा फुटबल खेलमा ४७ वटा टिम, पुरुष भलिबल २१ टिम र महिला भलिबल ७ वटा टिम दर्ता भएको प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप आयोजक सुईना कर्णालीका अध्यक्ष अनिल बानियाँले जानकारी दिए।
खेलकुद प्रतियोगिता बिहीबारबाट सुरु भएको र प्रतियोगितामा विजेता हुने फुटबल टिमलाई कप, मेडल र प्रमाणपत्रसहित ६० हजार, उपविजेतालाई मेडल र प्रमाणपत्रसहित २० प्रदान गरिने छ।
पुरुष, महिला भलिबलतर्फ विजेता हुनेलाई कप, मेडल र प्रमाणपत्रसहित ३० हजार र उपविजेतालाई मेडल र प्रमाणपत्रसहित १० हजार प्रदान गरिने बताइएको छ। त्यसैगरी, फुटबल, भलिबलतर्फ तेस्रो हुने टिमलाई मेडलसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बानियाँले बताए।
त्यस्तै, खेल अवधिभर सर्वोत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने छ। आज औपचारिक कार्यक्रम उद्घाटन गरिएको र भोलिबाट खेलकुदका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।