उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयले सर्वोच्च अदालसम्म प्रवेश पाएको बताएका छन्।
मङ्गलवार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकलाई  सम्बोधन गर्दै  मन्त्री भण्डारीले सुपारी निर्यात विषय धेरै पटक छलफलको विषय बनेपनि अहिले अदालसम्म प्रवेश पाएर केही आदेशहरु जारी भइसकेको बताएका हुन्।
उनले भने, ‘नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा धेरै पटक छलफलको विषय बन्यो। संसदमा, मन्त्रालयमा मात्र होइन यो विषयले अहिले सर्वोच्च अदालसम्म प्रवेश पाएको छ। त्यहाँबाट पनि केही आदेशहरु जारी भइसकेका छन्। उत्पादनका थुप्रै तथ्यहरु छन्। अहिले पनि राज्य प्रणालीभित्रका तथ्याङ्कहरू सही नभएको अवस्थामा छन्। पछिल्लो समय कृषि मन्त्रालयसँग सम्बन्धित तथ्याङ्कहरू आउनुपर्ने हो तर त्यो तथ्याङ्कहरू आउन नसकेको अवस्था छ।’
साथै उनले नेपालमै उत्पादन भएको सुपारीलाई बजार दिलाउनको लागि सरकार लागि परेको बताए। उनले समितिबाट निर्देशित भएमात्र सुपारी परीक्षण कृषि मन्त्रालयले गर्न सक्ने बताए। उनले बाहिरको भन्दा नेपाली उत्पादन महंगो भएकाले पनि सुपारीको व्यापारले बजार नपाएको बताए। 
उनले भने, ‘अन्यन्त्र भन्दा नेपाली उत्पादन महङ्गो भयो। अहिले खासगरी गुट्खा बनाउने उद्योगहरु विशेषगरीसुपारी प्रयोग गरिरहनु भएको छ। गत वर्ष गुट्खाबाट नौ अर्ब राजस्व सङ्कलन भएको छ। रोजगारी पनि सिर्जना भएको छ। तर अझ बढी भारतमा निर्यात गर्न सकिन्छ। तर बाह्य वस्तु आयात गर्दाखेरी सस्तोपर्ने र नेपालको उत्पादन गरेको सुपारी महंगो पर्ने भएर बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ।’