मोरङको बूढीगंगा गाउँपालिका–६ औलानपुरमा जङ्गली च्याउ खाँदा २ नाबालिकासहित ४ जना बिरामी परेका छन्।

विषालु च्याउको तरकारी बनाएर खाँदा बिरामी परेकाहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बूढीगंगा–६ का २९ वर्षीय इन्द्रकुमार लिम्बूको घरमा मंगलबार राति च्याउको तरकारी बनाएर खाएकाहरुमा वान्ता हुने, छात्ती दुख्नेलगायतका समस्या देखा परेको थियो।

प्रहरीका अनुसार च्याउ खाँदा इन्द्रकुमार सहित उनका ८ र ७ वर्षका छोरीहरु तथा छिमेकी ३८ वर्षीया सीता लिम्बू बिरामी परेका छन्। बिरामी परेकामध्ये इन्द्रकुमारको अवस्था मध्यम रहेको छ भने अरुको सामान्य रहेको छ।

च्याउ खाएको भएपनि इन्द्रकुमारकी पत्नी भने सकुशल छिन्। सीताको स्वास्थ्यमा बुधबार बिहानबाट मात्रै समस्या देखिएको थियो। त्यसलगत्तै उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको हो।