भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुई वटा भारतीय ट्रकमा आगजनी गरिएको थियो।
पक्राउ पर्नेमा दुर्गा प्रसाईँले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र  त्यसको युवा सङ्गठन नागरिक प्रतिरक्षा बल (पिडिएफ) का नेता कार्यकर्ता रहेका छन्। 
प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियो। बिर्तामोडबाट मङ्गलवार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए।
यसैगरी हल्दीबारी गाउँपालिका–९ का बिवश लिम्बू , हल्दीबारी९१ वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का रुद्र भुजेल, बिर्तामोड नगरपालिका–३ का उदय लिम्बु , बुद्धशान्ति गाउँपालिका–४ का बलिहाङ लिम्बू र मेचीनगर नगरपालिका–६ का राजेश महत पक्राउ परेका छन्।
उनीहरूले भारतीय ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ। 
झापाको चारपानेमा पेट्रोल छर्केर अरु सवारी साधनमा आगजनी गर्ने उनीहरूको प्रयास प्रहरीले विफल बनाएको जनाएको छ। पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान सुरु गरिएको छ। 
पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको थियो। दुवै ट्रकका चलक घाइते भएका थिए। 
प्रसाईँलाई एक जना महिलाको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।