हिमाल मिडियाको आयोजनामा बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानको विभिन्न उमेर समूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता सुपरभाइजर कृष्णराज घलेले जनाएका छन्।
भेट्रानमा पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स र डबल्समा खेल हुनेछ।
सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशि ५ लाख ७६ हजार रुपैयाँ छ। पुरुष/महिला सिंगल्स र पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
३५ वर्षमाथि सिंगल्स/डबल्समा पहिलो हुनेले २५ हजार, दोस्रोले १२ हजार ५ सय र तेस्रो हुने दुई खेलाडीले ६/६ हजार नगद पुरस्कार हात पार्ने छन्। ४५ वर्षमाथि पुरुष सिंगल्स/डबल्सका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ४ हजार ५ सय/४ हजार ५ सय नगद पुरस्कार जित्ने छन्।
५५ वर्षमाथि प्रथमलाई १५ हजार, दोस्रोलाई ७ हजार ५ सय र तेस्रो हुनेलाई ३ हजार ५ सय/३ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ। ६५ वर्षमाथि पहिलो हुनेलाई १० हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई ३/३ हजार नगदबाट पुरस्कृत गरिने छ।
नेपाल टेनिस सङ्घ तथा पाटनस्थित ढोकइमा क्याफेको सहयोगमा हुन लागेको प्रतियोगितामा १ सय ३९ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ।