मोरङमा बाबुसँगै जंगल जाँदा बेपत्ता भएका एक बालकको कंकाल फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार केराबारी गाउँपालिका–६ बस्ने पदमबहादुर तामाङका १४ वर्षीय छोरा दीपबहादुर तामाङको कंकाल शनिबार दिउँसो भेटिएको हो।

आहाले समुदायिक वनभित्र कंकाल फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। डीएसपी जोशीका अनुसार जंगलमा दाउरा खोज्न गएकाहरूले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनी भदौ २३ गते बाबु पदमबहादुरसँग जंगल गएको खुलेको छ। बेपत्ता भएको १३ दिनपछि उनको कंकाल भेटिएको हो।

‘बन्चरोको बिँड काट्नलाई भनेर बाबु–छोरा जंगल गएका रहेछन्। काम सकिएपछि बाबु घर फर्किए। छोराले म केहीबेरमा आउँछु भनेर भनेछन्। तर, फर्किएर आएनन्। परिवार र आफन्तले खोजी गरिरहेका बालकको कंकाल फेला परेको हो,’ डीएसपी जोशीले भने। उनका अनुसार कंकालको केही भाग रुखले किचिरहेको अवस्थामा भेटिएको।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कंकाल उठाएर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।