साफ यु–१७ च्याम्पियनसिप फुटबलमा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुवात गरेको छ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शुक्रवार भएको उद्घाटन खेलमा भारतले बङ्गलादेशमाथि १–० को कठिन जीत दर्ता गरेको हो। यो समूहमा माल्दिभ्स पनि रहेको छ। 
पहिलो खेलमा जित निकालेको भारत सेमिफाइनल नजिक पुगेको छ। निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा भारतले गोल गर्दै जीत निकालेको हो।
खेलभरि नै बङ्गलादेशको उत्कृष्ट रक्षात्मक पङ्क्तिसँग सङ्घर्ष गरेको भारतले अन्ततः मन्जुरी समयको पहिलो मिनेटमा डिफेन्डर सुमित शर्माको हेडरबाट गोलको खडेरी तोडेको थियो।
भारतका मुख्य प्रशिक्षक इश्फाक अहमदले खेलको ७८ औँ मिनेटमा मैदानमा पठाएका परिवर्तन खेलाडी मानभकुपर मालन्गियाङले खेलको निर्णायक गोलका लागि सहयोग गरेका थिए।
उनको दायाँपट्टिबाट गरिएको क्रसले बङ्गलादेशका डिफेन्डरहरू झुक्किएका बेला सुमित शर्माले हेडर गोल गरेका थिए।
भारतले आफ्नो समूह चरणको अन्तिम खेल माल्दिभ्सविरुद्ध खेल्ने छ। पराजित भएको बङ्गलादेशले पनि अब माल्दिभ्ससँग खेल्ने छ। 
शुक्रवारदेखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले भने शनिवार पाकिस्तानसँग खेल्ने छ। नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुने छ।