काठमाडौँमा दसैँको घटस्थापना अघि नै पथान्तरण हुने भएको छ। 
काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
दसैँअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन्। 
सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ।
मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। 
उनले भने, ‘मेलम्चीको पानी असोज दोस्रो साताभित्रै काठमाडौँमा ल्याउने तयारीमा छौँ।’ सोही योजनाअनुसार अहिले काठमाडौँमा बिग्रिएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्भार गर्ने काम भइरहेको छ।
बर्खा याम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो। बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी वितरण गर्ने योजना अनुसार तयारी भइरहेको छ। 
काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।