मकवानपुर प्रहरीले १ करोड ३५ लाख मूल्य बराबरको अवैध लत्ताकपडा सहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक सीताराम रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटे चेकपोस्टमा भारतीय नम्बर प्लेटको ट्रक चेकजाँच गर्दा उक्त मूल्य बराबरका अवैध लत्ताकपडा बरामद गरेको हो।
प्रहरीका अनुसार सुनसरीबाट काठमाडौँ जाँदै गरेको उक्त ट्रकमा आलुको भन्सार बिल काटेर ७४ बोरा लत्ताकपडाहरु ल्याइएको थियो। २ सय ५६ बोरा आलु भित्र तयारी कुर्ता, रोल सहितको सर्ट पाइन्ट लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो।
प्रहरीले ट्रकका चालक भारत, बिहार राज्य, जिल्ला मोतिहारी, पूर्वी चम्पारण सपही बस्ने वर्ष ३० का जनदार आलम र सोही स्थानका सहचालक वर्ष १९ का मुना मियालाई पक्राउ गरेको छ।
भन्सार छली ल्याइएका लत्ता कपडाहरु, आलुका बोराहरु र भारतीय ट्रक समेतलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।