देशभरि मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरमा र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
महाशाखाले जारी गरेको बुलेटिनअनुसार शुक्रवार बिहान कोसी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। 
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ।   
शुक्रवार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र कोसी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रवार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।