नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवम् पेसागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला सङ्ग्रौलाले संविधान संशोधन गर्दा महिलाहरूको अधिकारलाई अझै फराकिलो बनाउनुपर्ने औँल्याएकी छिन्। उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूलाई अवसर दिनुपर्ने जिकिर गरिन्।
बिहीबार काँग्रेसको पेसागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनले आयोजना गरेको ‘संविधानको समीक्षा, संशोधन र चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रतिनिधि सभा र प्रदेश सभामा ३३ प्रतिशत महिलाहरूको उपस्थिति रहेपनि त्यो अपुग भएको उनले बताइन्।
उनले काँग्रेस र एमालेबीच किन गठबन्धन गरेको भन्ने प्रश्नको जवाफ जनतालाई चित्तबुझनेगरी दिनुपर्ने पनि बताइन्। संविधानमा देखिएका जटिलता, चुनौती र समस्यालाई आत्मसाथ गर्दै विभिन्न भाषाभाषी, धर्म, लिङ्ग, वर्णहरूको समानुपातिक समावेशी प्रतिनिधित्व गर्दै संविधान संशोधन हुनुपर्ने बताइन्।