सर्वसाधारणको लागि आज (बिहीबार) देखि धरहरा खुला गरिएको छ। 
बिहीबार संविधान दिवसको अवसर पारेर सहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुलाएको हो। 
धरहरा सरकारले गठन आदेश नबनाउन्जेलसम्म भने निःशुल्क चढ्न पाउने व्यवस्था मिलाइएको छ। बिहानैदेखि धरहरा चढ्नका लागि सर्वसाधारणको भीड लागेको छ।
हरेक दिन बिहान साढे १० देखि दिउँसो साढे ४ बजेसम्म सर्वसाधारणले धरहरा चढ्न पाउनेछन्। त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको वेबसाइट धरहरा डटजीओभीडटएनपीमा गएर बुकिङ गर्न सकिनेछ।
धरहरा चढ्न अघिल्लो दिन नै बुकिङ गर्नुपर्नेछ। तर अनलाइन बुकिङ सुरु नहुँदासम्म कुपनमार्फत धरहरा चढ्ने व्यवस्था गरिएको छ।
परिवारमा आमा–बुबा, छोरा–छोरीसहित चार जनासम्मले एकै पटकमा अनलाइन बुकिङ गर्न सक्नेछन्। धरहरा डटकम डट जिओभी डट एनपी नामक वेबसाइटमार्फत बुकिङ गर्न सकिन्छ। 
सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो। वि.सं. २०७२ फागुन ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘मेरो धरहरा, मै बनाउँछु’भन्ने अभियान सुरु गरिएको थियो।
विसं २०७५ असोज १४ गते राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट धरहरा पुनः निर्माण सुरु गरिएको थियो। वि.सं.२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए।