उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज (बिहीबार) देखि देशभरि नै चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्यका पसलहरु सञ्चालन गरिएको जानकारी दिएका छन्। 
बिहीबार नेपाल खाद्य व्यापार कम्पनीको थापाथलीमा २०८१ सालको चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनको औपचारिक समुद्घाटन समारोहमा बोल्दै उनले आम नागरिकहरूले अनुभूति गर्नेगरी सरकारले चाडपर्वलाई लक्षित गरेर देशभरि झन्डै ७४ स्थानमा सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिएका हुन्। 
उनले भने,‘नेपाल खाद्य व्यापार कम्पनीको थापाथली केन्द्रबाट आजबाट हामीले देशभरि झन्डै ७४ स्थानमा सुपथ मूल्यका पसलहरु सञ्चालन गरिरहेका छौँ। अत्यावश्यक खाद्यान्नमा न्यूनतम पाँच रुपैयाँ र त्यो भन्दा अझ बढी गरेर सुपथ मूल्यका पसलहरु आजबाट देशभरि सञ्चालनमा आउनेछ। सरकारको तर्फबाट प्रदान गरिएको एउटा सहुलियत आम आधारभूत तहका नागरिकहरूले अनुभूत गर्ने गरी सरकारले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको हो।’
मन्त्री भण्डारीले संविधान कार्यान्वयनको चरणमा जति चाँडो जान सक्यो त्यति चाँडो जनतालाई शुसानको अनुभूति दिन सकिने बताए। संविधानलाई पूर्ण कार्यान्वयन गर्ने कुरामा कतिपय जटिलताहरू आज पनि अगाडि रहेको भन्दै ती जटिलताहरुलाई हटाएर कार्यान्वयनको चरणमा पुर्‍याउनु सरकारको दायित्व रहेको बताए। 
उनले भने,‘हामीले अझैपनि संविधानलाई त्यसको कार्यान्वयनको चरणमा जति चाँडो जान सक्यो त्यति चाँडो सुशासनको अनुभूति दिन सक्छौँ। हाम्रो आजको आधारभूत आवश्यकतालाई सम्बोधन गरेको देखिन्छ। त्यसैले,अझैपनि संविधानलाई पूर्ण कार्यान्वयन गर्ने कुरामा यसका कतिपय जटिलताहरू आज पनि हाम्रा अगाडि छन्। ती जटिलताहरुलाई हामीले हटाउनुपर्ने छ। मुलत: यसका मौलिक प्रबन्धलाई कार्यान्वयनको चरणमा पुर्‍याउनु पर्ने सरकारको दायित्व हो।’