राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले व्यवस्था परिवर्तनका नाममा जनतालाई झुक्काउने काम भएको बताएका छन्। 
बिहीबार काठमाडौँमा आयोजित ‘नेपालको संविधान समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै नेता शाहीले गणतन्त्रको नाममा व्यक्ति, सिस्टम र आचरण परिवर्तन भएर नाम मात्रै परिवर्तन भएको बताए।
उनले भने, ‘आचरण एउटै, काम एउटै, सिस्टम एउटै, व्यवस्था एउटै, नाम मात्रै परिवर्तन गरेर हुन्छ। यहाँ पटक–पटक व्यवस्था परिवर्तन गर्‍यौँ भन्छन्। के परिवर्तन गर्‍यौ ? पञ्चायत कालमा मन्त्री भएकाहरू गणतन्त्रमा पनि छन्। राजाको खुट्टामा दाम चढाएका शेरबहादुर देउवा र केपी ओली यो देशको प्रधानमन्त्री र दलको नेता भएर बसेका छन्। व्यक्ति परिवर्तन भयो ? भएन। सिस्टम परिवर्तन भयो ? भएन, नाम मात्रै परिवर्तन भयो।’
उनले नेपालको संविधानमा नागरिकहरूका लागि व्यवस्था गरिएको मौलिक हकको कार्यान्वयन नहुँदा शासकहरूलाई कारबाही गरिने कुराको सुनिश्चितता गर्न नसकेको बताए। 
उनले भने, ‘जनताले पञ्चायत व्यवस्था मानिरहेका छन्। सांसदले विकास गरोस् सोचिरहेका छन्, पुलिसले न्याय दिन्छ भनिरहेका छन्। जनताको माइन्ड अहिले पनि पञ्चायतकै छ।’ 
उनले लुट्न पाएकाहरूले मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई ठीक भनिरहेका भन्दै वर्तमान व्यवस्था ठीक भन्ने व्यक्ति दास वा राजनीतिक कमैयाबाहेक अर्को कोही हुन नसक्ने बताए। 
साथै, वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुलाई जनताले जिताएर नपठाएको उनको भनाइ छ।