राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गर्न नसकेको बताएका छन्। 
बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पालिकाहरुलाई एकीकृत गरेर पाँच सयभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताएका हुन्। 
उनले भने, ‘बलियो र स्वच्छ सुदृढ सङ्घीय सरकार होस्, स्थानीय पालिकाहरुलाई ७५३ वटा चाहिँदैन, ५०० भन्दा मुनीमै जाऊँ, अहिले  धेरै पालिकाहरु मर्ज भएर शिक्षाको दृष्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ। हामी मर्म अनुसार काम गर्न सकिरहेका छैनौँ। ’
साथै उनले प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने बताए। 
उनले मुलुक सङ्घीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा अन्यौलता सिर्जना भइरहेको बताए।