सङ्घीय संसद्अन्तर्गत शुक्रवार चारवटा संसदीय समितिको बैठक बस्दै छ।
सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दै छ।
बिहान ११ बजे  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ। 
त्यसैगरी, बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी विषयमा छलफल हुने बताइएको छ। 
बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा कार्य परामर्श उपसमिति पुनर्गठनका विषयमा छलफल हुनेछ।
दिउसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको छ।
                             
         
         
                     
         
         
         
                                        
                                                                                                


 
         
         
         
        

















 
         
         
        